काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाहीमा परेका नेताकार्यकर्तालाई माफी–मिनाहा दिने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीभित्रको एकता मजबुत बनाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्नु पर्ने राष्ट्रिय दायित्वलाई ध्यानमा राख्दै भविष्यमा पार्टी हितविपरीत कुनै पनि कार्य नगर्न सचेत गराउँदै माफी–मिनाहा दिने निर्णय गरिएको हो।'
निर्णयअनुसार विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका, उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका तथा असहयोग गरी अनुशासन समितिको कारबाहीमा परेकाहरूलाई बाँकी अवधि माफी–मिनाहा हुनेछ।
साथै, उनीहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै नवीकरण गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। यस्तै, विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलमा गएकालाई ‘घर फर्कन’ आह्वान गरिएको छ।
फर्किने नेताकार्यकर्तालाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र मुलुकको समग्र हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन गर्ने जनाएको छ।
कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने कांग्रेसले जानकारी दिएको छ।