काठमाडौं । जेनजी आन्दोलनमा नागरिकको आक्रोशमा परेको नेपाल प्रहरी अझै उठ्न सकेको छैन ।
सरकार र प्रहरी नेतृत्वले कर्मचारीको मनोबल बढाउन कुनै प्रयास गरेको छैन । यही अवस्थामा देश चुनावमा गए सुरक्षा अवस्था नाजुक हुनसक्ने जोखिम देखिएको छ ।
प्रहरीको मनोबल कति कमजोर छ भन्ने माइतीघरमा देखिन्छ । जहाँ ८–१० जनाको भिड जम्मा हुँदा २–३ सय प्रहरी खटाउने गरिएको छ। भिड देख्नेबित्तिकै प्रहरी डराउने अवस्था छ।
किनकी प्रहरीसँग न मनोबल बढेको छ न त्यो अनुसार स्रोत साधन नै दिइएको छ। भिड नियन्त्रणका लागि आवश्यक स्रोत साधन अझै प्रहरीले पाउन सकेको छैन ।
नागरिकहरुसँग सहयोग मागेर यतीबेला प्रहरी चलेको छ । ‘प्रहरीलाई सहयोग गर्ने भनेको धेरै जसो दुई नम्बर धन्दामा संलग्नहरु छन्,’ एक प्रहरी अधिकारी भन्छन्,‘संगठनले बजेट दिदैन, अनेक धन्दामा संलग्नसँग मागेर चल्नुपरेपछि प्रहरीले कसरी निष्पक्ष भएर काम गर्न सक्छ ?’
प्रहरीले नयाँ नेतृत्व पाएको पनि डेढ महिना भइसकको छ। तराईका धेरै जिल्लाहरुमा अघिल्लो सरकारकै पालामा जस्तो प्रहरी मिलेमतोमा तस्करी चलेको छ। धेरै जिल्लामा खराब आचरणकै प्रहरी कार्यरत छन्। सरुवा–बढुवामा निष्पक्ष मूल्याङकन हुन सकेको छैन ।
अर्कोतर्फ आन्दोलनका नाममा अपराध गर्नेहरु पक्राउ परेका छैनन्। निजी क्षेत्रमाथि भएको आक्रमणको अनुसन्धान नहुँदा व्यवसायीहरु अझै त्रसित छन्। चार हजारभन्दा धेरै कैदी फरार छन्।
प्रहरीका लुटिएका हतियार समेत फिर्ता भएका छैनन्। कैदी पक्राउ र हतियार फिर्ताका लागि बिशेष अभियान चलाउने निर्णय गरिएपनि त्यो कार्यान्वयन हुन सकेको छैन।
यस्तो अवस्थामा प्रहरीले कसरी निष्पक्ष र भयरहित ढंगले निर्वाचन गराउन सक्छ भन्ने प्रश्न प्रहरीभित्रै उठ्न थालेको छ।
यतिसम्म कि राजधानीमै बौद्दको क्यासिनोबाट करोडौ लुटपाट गर्ने काभ्रेली समुहको तस्बिर र भिडियो समेत बाहिर आएको चार महिना बितिसक्दा पनि उनीहरु पक्राउ पर्न सकेका छैनन्।
जसले गर्दा काठमाडौँ प्रहरी र अपराध अनुसन्धान कार्यालयका नेतृत्वको क्षमतामाथि पनि प्रश्न चिन्ह उठेको छ।