काठमाडौं । आयोगले तोकिएको जरिबाना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको अभिलेखमा अब १३७ वटा राजनीतिक दल मात्रै कायम रहने भएका छन् ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार, पुस ८ गते आयोग पदाधिकारीको निर्णय बमोजिम पटक–पटक सूचना दिँदासमेत जरिबाना नबुझाउने दलहरूको दर्ता खारेज गर्ने निर्णय भएको हो।
दर्ता खारेज भएका दलहरूमा आमआदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन्।
यसअघि निर्वाचन आयोगले गत मङ्सिर २९ गते ती दलहरूलाई ‘दर्ता खारेज किन नगर्ने’ भनी तीन दिनभित्र स्पष्ट कारणसहित जवाफ पेस गर्न निर्देशन दिएको थियो ।
तर चित्तबुझ्दो जवाफ नआएपछि आयोगले कारबाहीस्वरूप दर्ता खारेज गर्ने निर्णय गरेको जनाएको छ।