काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा सरकार र प्रमुख राजनीतिक दलबीच समझदारी बनेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।
निर्वाचनको अनुकूल वातावरण बनाउन विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने सहमति पनि बैठकमा भएको हो ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै राजनीतिक निकासका लागि निर्वाचन नै उपयुक्त माध्यम भएको धारणा राखे ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे ।