एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरामा डकुमेन्ट्री विवादमा बीबीसीविरुद्ध मानहानि मुद्दा हालेका छन्।
२०२१ जनवरी ६ मा आफूले दिएको भाषणलाई गलत सन्देश जानेगरी काँटछाँट गरेको भन्दै ट्रम्पले बीबीसीविरुद्ध फ्लोरिडा अदालतमा मुद्दा दायर गरेका हुन्।
बीबीसीको पानोरमा वृत्तचित्रमा जनवरी ६, २०२१ को आफ्नो भाषणलाई जानिजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा सम्पादन गरेर प्रस्तुत गरेको दाबी गर्दै ट्रम्पले प्रत्येक दाबीका लागि ५ अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् ।
बीबीसीले आफ्नो सम्पादनले ट्रम्पको हिंसात्मक कारबाहीका लागि प्रत्यक्ष आह्वान गरेको भन्ने भ्रमपूर्ण छाप दिएको स्वीकार गरे पनि क्षतिको मागलाई भने आधारहीन भन्दै अस्वीकार गरेको छ ।
ट्रम्पले मुद्दा दायर गर्नुअघि नै बीबीसीका वकिलहरूले सम्पादनमा कुनै दुर्भावना नभएको र ट्रम्पलाई कार्यक्रमले कुनै हानि नगरेको जिकिर गरेका थिए । नोभेम्बरमा एउटा आन्तरिक बीबीसी मेमो लिक भएपछि भाषणको सम्पादनको विषयले ठूलो आलोचना खेपेको थियो, जसका कारण बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिनुपरेको थियो ।
बीबीसीले भने अहिलेसम्म यस मुद्दामा औपचारिक जवाफ दिएको छैन ।
ट्रम्पको कानुनी टोलीले बीबीसीले उनको भाषणलाई जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा परिवर्तनु गरेर उनको छविलाई क्षति पुर्याएको दाबी गरेको छ।