काठमाडौं । स्वदेशमा भनेजस्तो रोजगारी नपाएको भन्दै नेपाली कामदारबीच जसरी पनि वैदेशिक रोजगारीमा जाने मोह बढेसँगै पछिल्लो १३ वर्षमा झन्डै साढे ७६ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको ‘श्रम आप्रवासन प्रतिवेदन–२०२४’ अनुसार सन् २०११–१२ देखि सन् २०२३–२४ को १३ वर्षको अवधिमा कुल ७६ लाख ३६ हजार ८ सय २५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
मन्त्रालयद्वारा जारी सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको यो संख्या संस्थागत श्रम स्वीकृति, व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर गएकाहरूको विवरण हो ।
यसबाहेक श्रम स्वीकृति बिना भिजिट भिसालगायत विभिन्न तरिका अपनाउँदै सरकारलाई झुक्क्याएर तेस्रो मुलुक हुँदै बिचौलियाको पछि लागेर बिदेसिएकाहरूको संख्या यसमा समावेश गरिएको छैन ।
यस प्रतिवेदनमा आवश्यक सबै प्रक्रियाबमोजिम वैधानिक रूपमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या मात्र समावेश गरिएको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट