Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैदीसँगको पुरानो चिनजान घातक, घरमै पुगेर पूर्वप्रहरी हवल्दारको विभत्स हत्या

कैदीसँगको पुरानो चिनजान घातक, घरमै पुगेर पूर्वप्रहरी हवल्दारको विभत्स हत्या

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको विभत्स हत्या गरिएको घटना प्रहरीले सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवन रत्ननगर–६ का ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेपछि यो जघन्य अपराधको विवरण बाहिरिएको हो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार दराईलाई रूपन्देहीको बेलहियाबाट पक्राउ गरी थप कारबाहीका लागि लमजुङ प्रहरीमा बुझाइएको छ।

२०८१ चैत ३१ गते स्थानीयले सीता कँडेलको घरबाट तीव्र दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेका थिए। घर बाहिरैबाट ताला लागेको अवस्थामा प्रहरी प्रवेश गर्दा कँडेलको शव बॉक्स–पलङको विस्तरामुनी त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो।

घटनास्थलको प्राविधिक तथा स्थलगत अनुसन्धानपछि सीआईबीले यो हत्या योजनाबद्ध तरिकाले गरिएको ठहर गर्दै विशेष अनुसन्धान टोली परिचालन गरेको थियो।

सीताको हत्या गर्ने आरोप लागेका बुद्धिराम दराई यही अघि २०६७ सालमा गोरखाकी चिनीमाया पाण्डेको हत्या अभियोगमा जन्मकैद सजाय भोगेका व्यक्ति हुन्।

२०६८ असार २० गते अदालतबाट जन्मकैदको फैसला भएपछि उनी भीमफेदी कारागार पुगे, जहाँ उनको परिचय तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग भएको थियो। कँडेल त्यतिबेला कारागारको सुरक्षामा खटिएकी थिइन्।

सजाय भुक्तानपछि कारागारबाट छुटेका बुद्धिराम २०८१ चैत ३१ गते सीताको घरमै पुगेर उनको हत्या गरेर बाहिरबाट ताला लगाएर फरार भएको सीआईबीले पुष्टि गरेको छ।

लमजुङ जिल्ला अदालतले २०८२ वैशाख १५ गते बुद्धिरामलाई पक्राउ पुर्जी जारी गरेपछि विस्तृत खोजी थालिएको थियो। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट उनलाई पक्राउ गर्दै सीआईबीले फरार अभियुक्तलाई कानूनी प्रक्रियामा ल्याएको हो।

अपराध अभिलेख हेर्दा दराई पहिले पनि हत्या अपराधमा संलग्न रहेको तथ्य खुलेको प्रवक्ता श्रेष्ठले बताए। सीताको हत्या दुराचार, विश्वासघात र योजनाबद्ध शैलीमा गरिएको निष्कर्ष प्रहरीले निकालेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077