काठमाडौं । प्रभु बैंकमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानप्रति नेपाल राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ ।
आफ्नो नियमनको कार्यक्षेत्रमाथि हस्तक्षेप हुने गरी सिआइबीले अनुसन्धान गरेको राष्ट्र बैंकका अधिकारीको भनाई छ । किनकी नेपाल राष्ट्र बैंकले नै गत आर्थिक वर्षमा प्रभु बैंकमाथि स्थलगत अनुगमन गरेको थियो।
जसमा कर्जा प्रवाहमा सामान्य कमजोरी बाहेक अरु केही गलत फेला पारेको थिएन । राष्ट्र बैंकले हरेक वर्ष बैंकको कारोबारमाथि विस्तृत अनुगमन गर्दै आएको छ।
जसमा त्रुटी नभेटिएकोमा हाल सिआइबीले सिइओ अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि सिआइबीमाथि प्रश्न उठेको हो।
प्रभु बैंक कब्जा गर्न खोज्ने एक समूहको स्वार्थमा सिआइबीले यसरी काम गरेको त होइन भन्ने समेत प्रश्न उठेको छ।
सिआइबीले यसअघि प्रभु मेनेजमेन्ट र प्रभु रेमिटबिचको कारोबार विवादमा देवीप्रकाश भट्टचनसहितलाई पक्राउ गरेको थियो। सोही प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रभु बैंकमा छापा हानिएको थियो ।
तर, अहिले कर्जा भनेर बैंकिङ कसुर तथा सजाय ऐनअनुसार छानबिन थालिएको छ। यो प्रकरणले समग्र बैंकरहरु समेत त्रसित बनेका छन्।
असल नियतले काम गर्दा कहिलेकाँही त्रुटी हुनसक्ने तर त्यसमा सिआइबीले फौजदारी मुद्दामा पक्राउ गर्ने प्रवृत्ति गलत भएको भन्दै यसको विरोध गर्ने तयारी बैंकर्स संघको छ।
सिआइबीले आर्थिक अपचलनका ठूला घटनामा भने चासो दिएको छैन । देशकै ठूला बिचौलिया दिपक भट्टको कर्जा दुरुपयोग, सम्पत्ति शुद्धीकरण र हुन्डी कारोबारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिआइबीलाई पत्राचार गरेको एक महिना धेरै भइसकेको छ।
तर, त्यो फाइल सिआइबीका एआइजी मनोज केसी आफैंले राखेर अनुसन्धान रोकेको आरोप लागेको छ। देशकै ठूला बिचौलियालाई जोगाएर एक बैंकलाई धरासायी बनाउने खेलमा लागेपछि सिआइबीको अनुसन्धानमाथि प्रश्न उठेको छ।