Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्कालीन गाउँपालिका उपाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही १९ लाख बिगो माग

तत्कालीन गाउँपालिका उपाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही १९ लाख बिगो माग

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष र वडा अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार आयोगले सिँचाइको कुलो बनाउन छुट्याइएको बजेट दुरुपयोग गरेको आरोपमा कालीकोटको नरहरिनाथ गाउँपालिका ७‚ की उपाध्यक्ष मनशोभा बुढासहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएका अन्यमा वडा नम्बर ७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सब-इन्जिनियर अमर शाही, अनिलकुमार विष्ट, सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव काशी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

आठै जनासँग जनही १९ लाख ४८ हजार ४८८ रुपैयाँ बिगो तथा जरिवाना माग गरिएको पौडेलले बताए।

आर्थिक वर्ष ०७७/७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नरहरिनाथ गाउँपालिकाले सिँचाइ योजनाका लागि ४२ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। गाउँपालिका र उपभोक्ता समितिबीच सम्झौता हुँदा ९३० मिटर लम्बाइको पक्की कुलो निर्माण गर्नुपर्ने थियो।

तर गाउँपालिका उपाध्यक्ष, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मिलेमतो गरी ३५४ मिटर लम्बाइको मात्रै कुलो बनाए। भुक्तानी गर्दा भने ७३० मिटरको लिखत प्रतिवेदन तयार पारे। प्राविधिक टोलीको स्थलगत नापजाँचसहितको मुचुल्का र प्रतिवेदनमा वास्तविकभन्दा बढी काम भएको देखाएर भुक्तानी गरी गाउँपालिकालाई नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077