काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निर्देशनविपरीत मधेस प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पद खारेज गर्न पत्राचार गरेको छ ।
राप्रपाबाट एक मात्र प्रदेशसभा सदस्य रहेकी समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते मन्त्री नियुक्त भएकी थिइन् । संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा उनी विना विभागीय मन्त्री बनेकी थिइन् ।
उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।
त्यसपछि राप्रपाले उनलाई सरकारबाट बाहिरिन दिएको निर्देशन दिएको थियो ।
पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पुर्याएर राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।
पत्र आइतबार नै प्रदेश सभा सचिवालयमा प्राप्त भएपछि उपसभामुख बबिता राउत ईशरलाई बुझाइएको थियो । उपसभामुख ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानुनविज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताएकी छिन् ।