काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुखको उम्मेदवारबारे छलफलमा जुटेको छ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। प्रतिनिधिसभामा राप्रपाका पाँच जना सांसद् छन्। त्यसमध्ये खुस्वु ओली र सरस्वती लामा महिला सांसद रहेका छन्।
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। अब उपसभामुखमा अरु दलका महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।
संविधानतस् सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।
तर संसदको अंकगणितले रास्वपाले जसलाई समर्थन गर्यो उसैले उपसभामुख पाउनछ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
उपसभामुखमा एमालेबाहेकका दलले दाबी गरेका छन् । तर, रास्वपाले अझैसम्म कुनै पनि दललाई संकेत गरेको छैन ।
संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ ।