एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले हरेक आप्रवासीको आवास अनुमति कडाइका साथ फेरि परीक्षण गर्न निर्देशन दिएको बताएका हुन् ।
ग्रीन कार्ड जाँच हुने देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेको सिएनएनले जनाएको छ ।
यो घोषणा वासिङ्टन डीसीमा अस्ति बुधबार दुई जना राष्ट्रिय सुरक्षाबल (नेशनल गार्ड) का सदस्यमाथि भएको गोलीकाण्डपछि आएको हो ।