काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै पत्नीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको आरोप लागेको छ ।
स्रोतका अनुसार गत असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकुमारकै पत्नी रहेको खुलेको हो।
आदर्शले प्रधानमन्त्रीको विश्वास, गोप्यता र कार्यसहजताको कारण पत्नीलाई सचिवालयमा ल्याइएको दाबी गरेका छन्।
स्रोतका अनुसार संगीता श्रेष्ठसँगै त्यही दिन स्वकीय सहसचिवमा नियुक्त कमला श्रेष्ठ र प्रशासन सहायकमा नियुक्त पुनम श्रेष्ठ तथा रविना श्रेष्ठ समेत आदर्शकै नातेदार भएको खुलेको छ ।
तर आदर्शले आफूले सबै नातेदारलाई नियुक्त गरेको आरोप असत्य भएको जिकिर गरे । सचिवालयमा एकैसाथ दर्जनौँ ‘श्रेष्ठ’ थरका व्यक्तिहरू नियुक्त भएपछि नातावाद, पारदर्शिता र नैतिक जिम्मेवारीबारे आलोचना बढेको छ ।
नागरिक सरकार गठनको संवेदनशील समयमा प्रधानमन्त्रीकै नजिकबाट यस्ता निर्णय आएपछि सरकारभित्रको आन्तरिक व्यवस्थापन र निर्णय प्रक्रियामाथि बहस चर्किएको छ ।
प्रधानमन्त्री कार्कीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको विषयमा जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको खबर आएपछि नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
फ्रन्टकी संयोजक रक्षा बमले आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्दै, नातावाद र कृपावादमा आधारित नियुक्ति तुरुन्तै खारेज गर्न सरकारलाई आग्रह गरेकी छन् ।