हेटौँडा । सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ अतिक्रमण गरी बनेका संरचना हटाउने प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार सार्वजनिक सूचना मार्फत कार्यालयले तोकिएको सीमा भित्र रहेका स्थायी तथा अस्थायी संरचना १५ दिनभित्र स्वयं हटाउन उपभोक्ता तथा स्थानीयवासीलाई निर्देशन दिएको छ ।
कार्यालयका अनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने क्षेत्रका ७५ फिट (२५–२५ मिटर) सडक सीमा भित्र पर्ने सबै संरचना हटाउनुपर्नेछ ।
निर्धारित समयभित्र अतिक्रमण हटाइएन भने सडक डिभिजनले स्वयं संरचना भत्काउने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै उठाइने सूचनामा स्पष्ट उल्लेख छ।
कार्यालयले २०७८ पुस १९ गते सर्वोच्च अदालतले दिएको आदेश तथा यसअघि संरचना हटाउन जारी गरिएको सूचनाविरुद्ध दायर भएका रिट निवेदनहरू अदालतले खारेज गरिसकेको पनि जानकारी दिएको छ। यसले सडक सीमा खालिबनाउने प्रक्रिया कानुनी रूपमा अवरोधमुक्त भएको कार्यालयको दाबी छ।
सडक डिभिजनले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक केन्द्रदेखि दायाँ–बायाँ २५–२५ मिटरको क्षेत्र सडक सीमा कायम गरिएको बताएको छ ।