काठमाडौं । 'हामी नेपाल' संस्थाका संयोजक सुदन गुरुङले सिमरामा हिजो भएको झडपलाई ‘आगामी ठूलो विस्फोटको केवल झल्को’ भन्दै चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले जेनजी अभियन्तामाथि भएको ‘प्रणालीगत दबाब र राजनीतिक आक्रमण’ अब सहन नसक्ने स्पष्ट पारेका हुन् ।
गुरुङले दाजुभाइ तथा साथीभाइमाथि कसैले हात उठाएको सह्य नभएको उल्लेख गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए।
'हत्याराहरूले खुल्ला चुनौती दिँडै हिँडे र सरकार चुप बसिरहे भने यो ज्वालामुखीको उभार अब झनै ठुलो हुनेछ,' उनले लेखे, 'हिजो देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो, के हुन सक्छ भन्ने ।'
बारा जिल्लामा सम्राट् उपाध्यायको नेतृत्वमा भइरहेको शान्तिपूर्ण कार्यक्रममा एमाले निकट समूह प्रवेश गरी जेन–जी अभियन्तामाथि गरेको ‘अपमान र कुटपिट’ राज्यको कमजोरीकै परिणाम भएको उनले आरोप लगाए।
गुरुङका अनुसार गृहमन्त्रीको “लाचारीपन र जिम्मेवारीहिनता” का कारण नै यस्तो परिस्थिति उत्पन्न भएको हो।
उनले गृहमन्त्रीप्रति तीव्र असन्तुष्टि जनाउँदै लेखे—'गृहमन्त्री आन्दोलनको म्यान्डेट, सडकमा बगेको रगत, र जेन–जी भाइबहिनीहरूको बलिदान बिर्सिसकेको देखेर लाज पनि लजाइसक्यो।'
गुरुङले गृहमन्त्रीले तत्काल राजीनामा नदिए, भ्रष्टाचार तथा हिंसामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न असफल भए वा आन्दोलनकारीहरूलाई नै पक्राउ गर्ने प्रवृत्ति रोकिएन भने देशव्यापी अभियान सुरु गर्ने चेतावनी पनि दिए ।
'देशप्रेमीहरूलाई पक्राउ गर्दै जान्छ भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउनेछु,' उनको चेतावनी छ।