काठमाडौं । गृह मन्त्रालयले बुधबार बाराको सिमरा विमानस्थल क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनको पहलमा स्थिति क्रमशः सामान्य बन्दै गएको उल्लेख गरिएको छ।
विज्ञप्ति अनुसार सिमरामा भएको अवरोध र झडपपछि शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रशासनले आवश्यक कदम चालेको र घटनाबाट उत्पन्न अवस्थालाई नियन्त्रणमा लिने प्रक्रिया जारी रहेको छ।
मन्त्रालयले वर्तमान सरकार देशभर शान्ति–व्यवस्था मजबुत पार्दै तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको दोहोर्याएको छ। 'निर्वाचन सफल बनाउन सबै पक्षबीच संवाद, समन्वय र सहयोग अपरिहार्य छ,' विज्ञप्तिमा भनिएको छ।
गृह मन्त्रालयले राजनीतिक दल र सरोकारवालाहरूलाई आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय प्रशासनसँग अनिवार्य समन्वय गर्न आग्रह गरेको छ। कार्यक्रममा शान्ति, मर्यादा र व्यवस्था कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी भएको मन्त्रालयको भनाइ छ।
'शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक अधिकार सुनिश्चित गर्न संयमता, समझदारी र संवाद आवश्यक छ,’ मन्त्रालयले चेतावनीसहित भनेको छ।
मन्त्रालयले सिमरामा उत्पन्न मुठभेडको स्थिति अन्त्य गरी शान्तिपूर्ण वातावरण बनाउन सबै पक्षसँग अपिल गर्दै तनाव थप नगर्न आग्रह गरेको छ।
बुधबार सिमरा विमानस्थल क्षेत्रमा एमाले नेता तथा कार्यकर्ताको आवागमनमा बाधा पुगेपछि अवरोध, धकेलाधकेल र झडपको स्थिति बनेको थियो। अवस्था नियन्त्रणबाहिर जाने जोखिम देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको थियो।