काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्।
निर्वाचन आयोगमा १३२ दल दर्ता भएका छन् । फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन् ।
त्यस्तै सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन पनि बैठक राखिएको हो । छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने दलले अराजकता रोजेको ठहरिने बताइन् । उनले निर्वाचन प्रक्रियामा सहभागी हुन दलहरूलाई आग्रह गरिन् ।
'म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु, मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस्। यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो। दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ,' उनले भनिन्।