ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ स्थित तेम्बा बजारमा मंगलवार राति आगलागी हुँदा चार घर जलेका छन्।
गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन्।
चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेर नष्ट भएको शेर्पाले जानकारी दिए। दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको शेर्पाले बताए । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।
एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएपछि आगलागी भएको थियो । नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा निरन्तर प्रयासपछि बिहान ५:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो ।
मानविय क्षति नभए पनि आर्थिक रुपमा करिब एक करोड रूपैयाँभन्दा बढी नोक्सानी भएको अनुमान गरिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।