काठमाडौं । वन विनाश रोकथाम, जलवायु परिवर्तन न्यूनीकरण र सामुदायिक वन व्यवस्थापनमा विश्वस्तरमै पहिचान बनाउँदै आएको नेपालले विश्व बैंकको फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी (एफसीपी) बाट ८८९ दशमलव ४ मिलियन डलर अर्थात् करिब साढे १२ अर्ब रुपैयाँ प्राप्त गरेको छ ।
यो रकम नेपालले तराई आर्क ल्यान्डस्केप क्षेत्रमा सञ्चालित रेड कार्यक्रममार्फत ८८१.८८ मिलियन टन कार्बनडाइअक्साइड उत्सर्जन घटाएको प्रमाणित भएपछि प्राप्त गरेको हो ।
यो इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (ईआरपीए) अन्तर्गत नेपालले पाएको पहिलो किस्ता हो । यसलाई भविष्यका वन–कार्बन कारोबार र जलवायु वित्त आकर्षणका लागि महत्वपूर्ण टेकोका रूपमा हेरिएको छ ।
नेपालको रेड कार्यक्रम विश्वमै सबैभन्दा सफल सामुदायिक–आधारित वन संरक्षण मोडेल मानिन्छ । तराई आर्क ल्यान्डस्केपमा रहेका बाघ, गैंडा, हात्ती तथा अन्य दुर्लभ प्रजातिको बासस्थान जोगाउँदै स्थानीय जनसमुदाय, सामुदायिक वन उपभोक्ता समूह, आदिवासी जनजाति र नागरिक समाजको सक्रिय सहभागितामा वन विस्तार र संरक्षण गरिएको विश्व बैंकले बताएको छ । राजधानी दैनिकबाट