काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा निर्धारित पार्टीको निर्वाचनअघि विशेष महाधिवेशनको माग सम्बोधन नभए आफूले महामन्त्री पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।
आइतबार सभापति शेरबहादुर देउवासँगको एक घण्टे भेटघाटका क्रममा शर्माले विधानअनुसार अघि बढ्न पार्टी नेतृत्वले अनिवार्य निर्णय गर्नुपर्ने बताएका हुन् ।
भेटमा उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर पेस गरिसकेको भन्दै उसलाई अब बेवास्ता गर्न नमिल्ने प्रष्ट पारेका थिए ।
१८ दिनको सिंगापुर उपचारपछि फर्किएका सभापति देउवा गतिरोध अन्त्यका लागि नेताहरूसँग अनौपचारिक संवादमै छन्। यही क्रममा उनले आइतबार शर्मासँग पनि आन्तरिक समस्या र समाधानका विकल्पबारे विस्तृत छलफल गरेका थिए।
कांग्रेसभित्र विशेष महाधिवेशनको माग बलियो बन्दै गएको छ ।