काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका सांसदमाथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले हातपात गरेका छन्।
सभामुख मण्डलले पदअनुकूल आचारण नगरेको भन्दै सात राजनीतिक दलका नेता ६४ जना सांसदहरूको हस्ताक्षरसहित बिहीबार साँझ अविश्वासको प्रस्ताव दर्ता गर्न प्रदेश सभा सचिवालयमा पुगेका थिए ।
प्रस्ताव दर्ताका क्रममा सचिवालय परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
उपसभामुखले दर्ता प्रक्रिया अघि बढाउने तोक लगाइसके पनि सभामुख मण्डलले प्रक्रिया रोकेका थिए । यस क्रममा त्यहाँ उपस्थित केही सांसद र सभामुखका कार्यकर्ताबीच झडपसमेत भएको जनाएको छ।
झडपका क्रममा जनमत पार्टीका नेता महेशप्रसाद यादव, लोसपाका सांसद उपेन्द्र महतो र जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको बताइएको छ ।
सभामुख मण्डल र एमालेका कार्यकर्ताले गुण्डा परिचालन गरेर आफूहरूलाई दुई घण्टासम्म उपसभामुखको कार्यकक्षमा थुनेको पनि माओवादी केन्द्रका सांसद दबाहरलाल कुशवाहाले बताए।
तर, अवरोधबीच पनि अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
त्यसपछि हिजो नै सभामुखले लगातार १० बैठकमा सूचना नदिइ अनुपस्थित भएका ५ सांसदको सांसद पदमुक्त भएको घोषणा गरेका थिए ।
तर सभामुखको उक्त निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरेकी छिन् ।