काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने भएको छ ।
निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेसम्म नामावली दर्ताको समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने ब्रिफिङ गरेका थिए ।
नामावली दर्ताको समय लम्ब्याउन नसकिने भएपछि अब राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएको बायोमेट्रिकबाट पनि मतदाता सूचीकृत गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीसँग बुधबार भएको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए ।
आजबाट राष्ट्रिय परिचय पत्र बनाएका र मतदाता नामावलीमा नाम नभएका मतादाताको पनि नामावली सूचीकृत हुने गरी व्यवस्था मिलाइसकिएको बताइएको छ ।