काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी संगठन विस्तारका क्रममा पदाधिकारी र केन्द्रीय कार्यकारिणी सदस्यहरूको संख्या बढाउने निर्णय गरेको छ ।
बुधबार पार्टीले जारी गरेको परिपत्रअनुसार एक जना उपाध्यक्ष र एक जना महासचिव थप्ने तथा केन्द्रीय कार्यकारिणी सदस्य सात जना बढाउने निर्णय गरिएको हो ।
हाल जसपामा चार उपाध्यक्ष र तीन महासचिव रहेका छन्। निर्णय अनुसार उपाध्यक्षको संख्या चारबाट पाँच र महासचिवको संख्या तीनबाट चार पुग्नेछ।
त्यसैगरी, थपिने सात जना केन्द्रीय कार्यकारिणी सदस्यहरूमा दलित समुदायबाट एक, महिला दुई, मुस्लिम एक र खुला तीन जना रहने व्यवस्था गरिएको परिपत्रमा उल्लेख छ।
पार्टीले आगामी केन्द्रीय समिति बैठकमार्फत उपाध्यक्ष, महासचिव तथा नयाँ कार्यकारिणी सदस्यहरूको नाम टुंगो लगाउने तयारी गरेको जनाएको छ।
जसपाले संगठन सुदृढीकरणका लागि नेतृत्व तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिएको जनाएको छ।