काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आज बिहान साढे ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशन र आगामी चुनावलाई लिएर छलफल हुनेछ ।
एक महिनाअघि शुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनलाई लिएर विवाद हुँदा टुंगोमा पुग्न सकेको छैन। मंगलबारको बैठकमा पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूले फरकफरक धारणा राखेका थिए ।
त्यस्तै, आगामी चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि गर्ने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन। जसले गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको हो।
मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारल तथा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेका थिए।