काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग छलफल गरेको छ ।
कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित बनाउनेबारे छलफल गरिएको हो ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा र डा। जानकी तुलाधर, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी छन् ।
जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन् । केही दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ ।
यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।