काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली वाम आन्दोलनमा देखिएको नाम, प्रतीक र स्वरूपका विवादमाथि व्यंग्य गरेका छन् ।
उनले नयाँ पुस्तालाई यथार्थपरक र समयानुकूल वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गर्दै अहिलेको वाम राजनीतिक बहसलाई “निरर्थक शब्दजाल” को संज्ञा दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले लेखेका छन्, 'हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो । अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो।'
भट्टराईले वामपन्थी दलहरूबीचको नाम र प्रतीकका विवादले देशका वास्तविक समस्या– बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्र — समाधान गर्न नसक्ने दाबी गरेका छन् ।
उनले भने, 'लाखौं बेरोजगार सर्वहारा विदेशिने र श्रम–निर्यात तथा वस्तु–आयातको परनिर्भरताको दुष्चक्र चाहिँ तोडिने भन्दा कस्सिने क्रम यथावत् छ तिनले यो बहसलाई ‘वे’ कार नभनून् !'
उनले वामपन्थी नेतृत्वलाई मार्क्सको द्वन्दात्मक भौतिकवाद, पछिल्ला ज्ञान–विज्ञानका उपलब्धि र चौथो औद्योगिक क्रान्तिको यथार्थमा आधारित नयाँ विचार, नीति र संगठन निर्माण गर्न आह्वान गरेका छन् ।
भट्टराईले जेनजी आन्दोलनलाई ‘चमत्कारिक विद्रोह’ को रूपमा वर्णन गर्दै राजनीतिक नेतृत्वले नयाँ पुस्ताको सोच र विश्वपरिवर्तनको गति बुझ्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार, “देश–काल सापेक्ष नयाँ विचार र विकल्पको खोज नै अबको मार्ग हो।”