काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले कानुनी शासन र सुशासनलाई देशको सामाजिक न्याय र आर्थिक वृद्धिको आधारशिला भएको बताउँदै त्यसका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले राज्यका सम्पत्तिमाथि राजनीतिक आवरणमा हुने लुट र निजी क्षेत्रमाथि लादिने शंका–संकटपूर्ण प्रणालीका विरुद्ध सरकार सजग रहेको बताइन् ।
उनले भनिन्, 'सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त हो । राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी प्रणालीप्रति हामी सजग छौँ । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन ।'
प्रधानमन्त्री कार्कीले सुरक्षाको प्रत्याभूति दिलाउन सम्पूर्ण शक्तिका साथ सरकार लागिपरेको स्पष्ट पार्दै निजी क्षेत्रको योगदानलाई उच्च सम्मानका साथ स्वीकार गरिन् ।