काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट अलग भएकी नेतृ रामकुमारी झाँक्री पुनः एमालेमा फर्किने तयारीमा छिन् ।
उनले बिहीबार बिहान एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेकी हुन् ।
झाँक्रीसँगै पूर्व प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठसहित ५० जनाभन्दा बढी नेताहरू पनि ओलीलाई भेट्न गुण्डु पुगेको एमाले नेता महेश बस्नेतले जानकारी दिए। भेटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए।
नेता बस्नेतका अनुसार झाँक्रीलगायतका नेताहरू औपचारिक रूपमा मंसिर २४ गते पार्टीमा फर्किने छन्। सो दिन राष्ट्रियसभा गृहमा ‘घर फर्किने कार्यक्रम’ आयोजना हुँदैछ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) बाट विद्रोह गरेका नेताहरू सामूहिक रूपमा एमालेमा पुनः प्रवेश गर्ने बताइएको छ।
'रामकुमारी झाँक्रीलगायतका साथीहरू एमालेमै फर्किन लागेका छन्,' नेता बस्नेतले भने, 'हामीले मंसिर २४ गते घर फर्किने भव्य कार्यक्रम राखेका छौं, जहाँ उनीहरूलाई स्वागत गरिनेछ।'
रामकुमारी झाँक्री २०७८ सालमा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीतर्फ गएकी थिइन्। पार्टीभित्र असन्तुष्टि बढेपछि उनी पछिल्लो समय एमालेसँग नजिकिएकी हुन्।