काठमाडौं । नेतृ रामकुमारी झाँक्रीले आजबाट एकीकृत समाजवादी पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन्।
एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन्।
झाँक्रीले भनिन्- 'एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ । आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौँ।
उनले संविधान र लोकतन्त्रमा संकट आएपछि एकीकृत समाजवादी निर्माण गरेको तर, पार्टी सोचेअनुसार अघि बढ्न नसकेको बताइन् ।
उनले भनिन्- 'नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं । त्यो अब समाप्त भएको छ । हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो ।'
एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन् ।