काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।
सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले महाधिवेशन मिति २५ देखि २८ वैशाखसम्म निर्धारण गर्ने प्रस्ताव पारित गरी भोलि बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको हो ।
भेलाले पार्टीलाई आगामी प्रतिनिधिसभा निर्वाचन (२१ फागुन) मा सहभागी गराउने तयारी तीव्र पार्ने निर्णय पनि गरेको छ । यसका लागि पार्टीका सबै तहका संरचनालाई सक्रिय रहन र संगठनलाई निर्वाचनमुखी बनाउन आह्वान गरिएको छ।
संस्थापन पक्षले १५ पुसभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण कार्य पूरा गर्ने, साथै सम्पूर्ण तहमा घरदैलो र जागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ। भेलाले संगठनलाई सुदृढ पार्दै महाधिवेशन र निर्वाचन दुबैलाई सफल बनाउन सबै कार्यकर्ता एकताबद्ध हुन आग्रह गरेको छ।
यता, संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अघि नै नियमित महाधिवेशन गर्नुपर्ने वा त्यसअघि विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन् ।