काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको आज छुट्टै भेला गरेका छन् ।
नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका हुन् ।
भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए । यो समूहले पार्टीको १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ।
भण्डारीले भने- 'केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । त्यसबाट पार्टीलाई कसरी निकास निकाल्ने भनेर साथीहरूबिच छलफल गरिरहेका छौँ ।'
आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् ।
यस्तै संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।