काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन भएको छ।
आइतबार दिउँसो भएको प्रदर्शनमा कांग्रेस सुधार अभियान (अन्डर फोर्टिन) का युवा कार्यकर्ताहरू सहभागी छन् ।
उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन्।
पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्वद्द समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो।
उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग सहित प्रदर्शन गरिरहेका छन् । पार्टी कार्यालयको प्रांगण जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरिरहेका छन्।
उनीहरूले नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् ! आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् ! लगायतको नारा लगाएका छन्।
जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको छ । साथै कसैलाई पनि जाँचबिना प्रवेश रोकिएको छ।
