Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ।

पार्टीको १५औंमहाधिवेशन कहिले गर्ने भन्ने विवाद उत्कर्षमा पुगेपछि छलफलका लागि शनिबार बसेको पदाधिकारी बैठक निष्कर्षमा पुग्न नसकेको हो।

पार्टीको महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि आज पदाधिकारी बैठक बसेको थियो।

तर, छलफल सकारात्मक भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने- 'छलफल सकारात्मक भएको छ। अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ। केन्द्रीय समिति बैठकबाट साझा धारणा बनाएर जानुपर्छ भन्नेमा एकमत छौँ।'

शुक्रबार महामन्त्री गगन थापाले पुस १६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गर्ने अडान लिएका थिए । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नदिएपछि बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको छ।

हिजो खड्कासँग भेट्नुअघि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले इतर पक्षका नेता डा. शेखर कोइरालासँग पनि भेटेका थिए। महामन्त्रीलाई काउन्टर दिन संस्थापन पक्षबाट अर्को कार्यतालिका आउने अवस्था बनेपछि बैठक रोकिएको थियो।

महाधिवेशन तालिकाबारे विवाद हुँदा २८ असोजमा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ भने कहिले सकिने टुंगो छैन।

इतर पक्षले मंसिरमा सम्भव नभए पुसभित्र महाधिवेशन गर्नैपर्ने अडान लिँदा संस्थापन पक्ष आसन्न फागुन २१ को चुनावपछि सार्ने दाउमा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077