पर्सा । गत असोज १४ गते राति वीरगञ्जमा भएको गोल्डेन भनिने शिवम साह कानु हत्या प्रकरणमा संलग्न चारजना प्रतिवादीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, जिल्ला अदालत पर्साको चलानी नं. ०८२–५१–००३५३१ अनुसार अदालतको आदेशपछि उनीहरूलाई कारागार चलान गरिएको हो ।
गत २०७९ असोज १४ गते राति करिब ११ः३० बजे, वीरगञ्ज महानगरपालिका–१० स्थित गिता मन्दिर सडक छेउमा लागेको गहवामाई मेलामा, स्थानीय २० वर्षीय शिवम साह कानु (गोल्डेन) माथि समूहिक आक्रमण गरी कुटपिट तथा चक्कु प्रहार गरिएको थियो ।
घटनास्थलमै गम्भीर घाइते भएका उनलाई उद्धार प्रयास असफल भएपछि मृत्यु भएको थियो । प्रहरीका अनुसार सो हत्यामा संलग्न ‘खुनीदरिन्दे’ नामक समूहका सदस्यहरूले योजनाबद्ध रूपमा आक्रमण गरेका थिए ।
कारागार चलान गरिएका प्रतिवादीहरूमा वीरगञ्ज महानगरपालिका–२४, रामगढवा बस्ने १९ वर्षीय गौतम पटेल, सोही स्थानका २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल) र नामथर वतन परिवर्तित ३४ जिल्ला २०८२/०८३ (रामगढवा-१) रहेका छन् ।