काठमाडौं। नेपाली कांग्रेस महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले रणनीतिक भेला बोलाएको छ।
केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनका लागि कार्यतालिका ल्याउन आनाकानी भएपछि दबाब दिने उद्देश्यले आइतबार भेला बोलाइएको हो।
हस्ताक्षर अभियानकर्ताका संयोजक गुरू घिमिरेका अनुसार भेला आइतबार मध्याह्न साढे १२ बजे बानेश्वरको आनन्दभूमि पार्टी भेन्युमा बस्नेछ।
नेता घिमिरेका अनुसार शुक्रबार र शनिबार बस्ने केन्द्रीय समिति बैठकको निर्णयलाई पर्खिने निर्णय भएकाले आइतबारलाई भेला बोलाइएको हो।
उनले भने- 'हामी आज र भोलि पर्खन्छौँ। सहमतिमा केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका नल्याए हामी भेला गरेर रणानीति तय गर्छौं । कार्यतालिका सहमतिमा आए उक्त भेला महाधिवेशनका विभिन्न तयारीका लागि रणनीति तय गर्ने भेलामा रूपान्तरण हुन्छ।'
भेलामा काठमाडौैमा उपलब्ध रहेका तथा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरू उपस्थित हुने उनले बताए।
नेता घिमिरेले ५४ प्रतिशत हस्ताक्षरकर्ताहरूको पहिलो प्राथमिकतामा नियमित महाधिवेशन भएको भन्दै नियमित कार्यतालिका नआए विशेष महाधिवेशनका लागि निर्णाय दबाब दिनेगरी भेलाले रणनीति तय गर्ने पनि जानकारी दिए।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सँग आज निवासमै छलफल गरेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमै गएर महाधिवेशनबारे छलफल गरेका थिए ।
तर, कार्यवाहक सभापति खड्काले आजको केन्द्रीय समितिबाट कार्यतालिका ल्याउने प्रस्ताव अस्वीकार गरेका छन् ।