काठमाडौं । दैलेखमा कार्यरत एक लेखा अधिकृतविरुद्ध अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर भएको छ।
डुङ्गेश्वर गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।
कार्कीले सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा घुस लिएको आरोप छ।
उनले डुङ्गेश्वर गाउँपालिका वडा नं। १, २, ३, ४ र ५ मा पर्ने जर्सी चोक देउली जडी हुँदै गाउँपालिका सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रिया अगाडि बढाइदिने, प्रक्रियाको सहजीकरण गरिदिने बहाना बनाई एक लाख घुस लिएको पाइएको थियो ।
सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
कार्कीलाई एक लाख रूपैँया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दावी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।