काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्तालाई राजनीतिमा सक्रिय र संगठित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छिन् ।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले लेखेकी छन्, 'जेनजी कुनै पार्टी होइन, कुनै विचारधारा होइन, यो त निश्चित समयमा जन्मिएका मानिसहरूको समूह हो। त्यसैले यस पुस्तालाई राजनैतिक र वैचारिक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ। देशको नेतृत्व गर्न सक्ने क्षमता यही पुस्तामा छ।'
झाँक्रीका अनुसार, परम्परागत राजनीतिक दलका युवा र विद्यार्थी संगठनहरू समाजमा प्रभावहीन बन्दै गएकाले नयाँ पुस्ताले वैकल्पिक रूपमा आफ्नो आवाज उठाउन थालेका हुन्। उनले भनिन्, 'विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो विद्रोह अरूले हाइज्याक गरे।'
झाँक्रीले जेन–जी अभियानलाई दीर्घकालीन र आवश्यक पहलका रूपमा व्याख्या गर्दै थपिन्, 'आत्तिनु पर्दैन, यो एउटा अभियान हो — मिल्नेहरू जोडिँदै जानेछन्, नमिल्नेहरू आफैं छुट्नेछन्।'
अन्त्यमा नेतृ झाँक्रीले जेनजीलाई हौसला दिँदै लेखेकी छिन्, 'तपाईंहरूको प्रयास ठिक दिशामा छ। देशको रूपान्तरण यही पुस्ताबाट सुरु हुन्छ। अगाडि बढ्नुस् — मेरो सधैं साथ र शुभकामना छ।'