काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आगामी कात्तिक २२ भित्र आह्वान गर्ने निर्णय गरेको छ ।
गत कात्तिक ९ र ११ गते बसेको पार्टी सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता कविन्द्र बुर्लाकोटीले उम्मेदवारी आह्वानका लागि आवश्यक तयारी पूरा गर्न निर्देशन दिइएको बताएका हुन् ।
‘आसन्न प्रतिनिधि सभा निर्वाचनका तयारी अन्तर्गत समानुपातिक उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेज र प्रक्रिया तयारीको अन्तिम चरणमा पुगेका छन्,’ उनले भने, ‘कात्तिक २२ भित्रै उम्मेदवारी आह्वान गर्ने निर्णय गरिएको छ।’
यससँगै रास्वपाले मतदाता नामावली दर्ता सहजीकरण अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले कात्तिक मसान्तसम्मको समयसीमा तोकेको उल्लेख गर्दै बुर्लाकोटीले देशभरका नवयुवा र आम नागरिकलाई मतदाता दर्तामा सहजता मिलाउन अभियान सुरु हुने बताए।