काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव बढेर सतर्कता तह आसपास पुग्न सक्ने विभागको पूर्वानुमान छ ।
मंगलबार दिउँसो २ बजे एक विज्ञप्तिमार्फत विभागले भनेको छ- 'हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको वाग्मती, कमला, कोसी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोसी, वाग्मती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।'
विशेषगरी, वाग्मती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।