काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू डा. सुधा शर्मा र बब्लु गुप्ताले शपथ लिएका हुन् ।
शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।
उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन् । तर जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाएकी थिइन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका थिए ।
यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखेका थिए । तर प्रधानमन्त्री कार्कीले उनलाई भूमिमन्त्रीमा सिफारिस गरेकी थिइन् ।