काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले जेनजी आन्दोलनलाई विदेशी स्वार्थ र दलाल शक्तिहरूले अपहरण गरेको दाबी गरेका छन् । उनले आन्दोलनभित्र १३२ थरि समूह सक्रिय रहे पनि त्यसको दिशा र उद्देश्य भट्किएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले भने, 'विरोध प्रदर्शन कल गर्नेहरू विदेशी घुसपैठ, ‘पानी मरुवा’ र ‘लुसिफर’ जस्ता पात्रबाट हाइज्याक भइसकेका छन् । परिणामस्वरूप उनीहरू न वल्लोघाटमा छन्, न पल्लोतिर — पूर्णतः भ्रमित र दिशाहीन बनेका छन्।'
थापाले बंगलादेश र नेपालका केही राजनीतिक घटनालाई उदाहरण दिँदै विदेशी प्रभावबारे पनि प्रश्न उठाए । उनका अनुसार, 'बंगलादेशमा ८७ वर्षीय युनुसलाई फ्रान्सबाट आयात गरेर शासक बनाउने र नेपालमा ७३ वर्षीया पूर्व नेविसंघ कार्यकर्तालाई अस्पताल पुगेको भरमा प्रधानमन्त्री बनाउने चलखेल नै नक्कली, हुतिहारा र बहकाउ जेनजीहरूको करामत हो।'
तर उनले सबै जेनजीहरूलाई नकारात्मक रूपमा नहेर्न आग्रह गर्दै स्पष्ट पारे, 'सबै जेनजी खराब छैनन्। तर विदेशी कठपुतली, दलाल र देशद्रोही भने देशका धमिरा र शत्रु हुन्।' थापाले अन्त्यमा लेखेका छन्, 'जय नेपाल।'