म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ ।
रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।
'रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका कम्पनीका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिए ।
‘तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्’, उनले भने, ‘चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ ।’
चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोतअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताए । उनका अनुसार दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब हो ।
यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’बाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । उनका अनुसार चिमखोलाबाट राहुघाटसम्म ३९ वटा टावर निर्माण भएका छन् ।