चितवन । ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’ प्रदान गरिएको छ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको भन्दै पुरीलाई बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी अरुण पौडेलले प्रशंसापत्रसहित सम्मान गरेका हुन्।
एसपी पुरीले सुरक्षित समाज निर्माणको पवित्र लक्ष्यप्रति समर्पित भई कुशल व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनमार्फत जिल्लाको समग्र शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा उत्कृष्ट कार्य प्रदर्शन गरेको सम्मानपत्रमा उल्लेख छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिक सिंह पनि पुरस्कृत भएका छन् । सिहंलाई उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै पुरस्कृत गरिएको हो ।