एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य भएका दाबी गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले ब्रिक्समा सामेल हुन चाहने देशहरूलाई भन्सार शुल्क लगाउने बताएको र अहिले देशहरू ब्रिक्सबाट बाहिरिन थालेका बताएका हुन् ।
ट्रम्पले ब्रिक्सलाई डलरमाथिको आक्रमण भनेका छन् । अमेरिका भित्रिने सबै उत्पादनहरूमा भन्सार लगाउने बताएसँगै अहिले देशहरूले ब्रिक्सको बारेमा कुरा गर्न पनि छोडिसकेको उनले दाबी गरे ।
अमेरिकाले ब्रिक्सका सदस्य देश भारत र ब्राजिलमाथि ५० प्रतिशत भन्सार कर लगाएको छ ।
सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो । पछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो ।
गएको वर्ष दक्षिण अफ्रिकामा भएको १५औं सम्मेलनले इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) लाई सदस्यका रूपमा थपेको थियो ।