काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको भन्दै उनको बहादुरी र त्यागलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् ।
विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपीनको दुःखद मृत्युको हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको उल्लेख गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छिन्- 'यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।विपीन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो । उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो ।'
साथै, उनले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छिन्- 'उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ। सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ । ‘उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधै नेपाली गौरवको प्रतीक का रूपमा जीवित राख्नेछ ।'
बन्धक हुनुपूर्वका अन्तिम क्षणमा विपीनको अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर कैयौँ साथीहरूको ज्यान बचाएकोप्रति प्रधानमन्त्रीले कृतज्ञता प्रकट गरेकी छन् ।