काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल सुरु गरेका छन्।
घिमिरेले सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि सभा पुनर्स्थापनाबारे दलहरूको राय लिने उद्देश्यले छलफल गरेका हुन्।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीले भने,‘सभामुखले आज बिहान ९ बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि सभा पुनर्स्थापनाबारे दलहरूको राय लिने उद्देश्यले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई छलफलका लागि बोलाउनुभएको हो।’
छलफलमा एमाले, कांग्रेस, माओवादी लगायतका प्रमुख सचेतक सहभागी छन्।
सभामुख घिमिरेले दलहरू संसद् पुनर्स्थापनातर्फ जोड दिन्छन् कि तोकिएको आगामी फागुन २१ गते निर्वाचनमा जाने तयारीमा लाग्छन् भन्ने आधिकारिक धारणा बुझ्न छलफल तय गरेका हुन्।
दलहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा साथ दिन तयार भने न्यायिक परीक्षणका लागि सभामुख घिमिरे प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन्।
कतिपय जेनजी आन्दोलनका अभियान्तासमेत प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने विषयमा आवाज उठाइरहेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन गरेपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै प्रधानमन्त्री पदबाट दिएको राजीनामा दिएका थिए।