काठमाडौँ । प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा १० वटा रिट पेस भएका छन् ।
विघटन, सरकार गठनसँगै जेनजी आन्दोलनमा भएको दमन र तोडफोडलगायतका विषयमा फरक फरक आदेश पनि रिटमा माग गरिएको छ ।
जेनजी आन्दोलनपछि सम्पूर्ण सेवा ठप्प रहेको सर्वोच्चले रिट दर्ता र सुनुवाइको प्रक्रिया अघि बढाउने सूचित गरेसँगै मङ्गलबार १० रिट पेस भएका हुन् ।
यसअघि बन्दी प्रत्यक्षीकरण रिट मात्र दर्ता र सुनुवाइ भइरहेकामा मङ्गलबारदेखि सबै प्रकारका रिट दर्ता गर्ने सूचना सर्वोच्चले गरेको थियो । यस्तै मङ्गलबार नै मौलिक हक प्रचलन र कार्यान्वयनको आदेश माग गरेर थप चार रिट पनि पेस भएका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले मङ्गलबार १० रिट पेस भएको र अध्ययनका क्रममा रहेको बताए । गोरखापत्रबाट