काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध दायर गर्न खोजिएको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयलाई सर्वोच्च अदालतले नै सदर गरेको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रशासनले गरेको दरपीठ निर्णयलाई यथावत् राख्ने आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, 'प्रस्तुत निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउनुपर्ने प्रकृतिको नदेखिँदा रजिस्ट्रारबाट भएको मिति २०८३/१/२५ को आदेश बदर गरिरहनु परेन।'
यसअघि संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले उक्त निर्णयविरुद्ध रिट दर्ता गर्न खोजेका थिए। तर, सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो।
प्रशासनको उक्त निर्णयविरुद्ध त्रिपाठीले इजलासमा निवेदन दिँदै रिट दर्ताका लागि आदेश माग गरेका थिए।
तर सर्वोच्च अदालतले भने प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सम्पन्न भई नियुक्तिसमेत भइसकेको अवस्थामा रिट दर्ता गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।