काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार डीआईजीहरू विनोद घिमिरे, ओमबहादुर राना र गोविन्द थपलियालाई सरुवा गरेको हो ।
योसँगै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ प्रहरी प्रमुख पाएको छ । यी दुवै प्रदेशका पहिलाका प्रमुख एआईजीमा बढुवा भएपछि नयाँ डीआईजीहरूलाई खटाइएको हो ।
मधेस प्रदेशमा सीआईबीमा कार्यरत डीआईजी गोविन्द थपलियालाई जिम्मेवारी दिइएको छ । यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डीआईजी ओमबहादुर रानालाई सुदूरपश्चिमको जिम्मेवारी दिइएको छ ।
यसअघि मधेसमा उमाप्रसाद चतुरवेदी र सुदूरपश्चिममा डम्बरबहादुर विक कार्यरत थिए । उनीहरू दुवै जना एआईजीमा बढुवा भएका छन् । यस्तै केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका विनोद घिमिरेलाई प्रबन्ध निर्देशनालयमा जिम्मेवारी तोकिएको छ ।