हुम्ला । चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट हुम्लाका लागि उडेको छ ।
हुम्लाको चंखेली गाउँपालिका-४ देशीखोला नजिक मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १०९१ नम्बरको जिप दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खस्द १२ जना घाइते भएका थिए ।
जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मेल्छाम प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ की बसन्ती बुढाका आमा–छोरा र सोही वडाका मानवीर बुढा रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् ।
घाइतेमध्ये २ को अवस्था सामान्य र ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचारका स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी स्वरूप हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।